टीकापुर, असोज २२
टीकापुर क्षेत्रको समग्र विकासका लागि आर्थिक उन्नति हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
टीकापुर सरोकार समूहले आज टीकापुरमा आयोजना गरेको टीकापुरका सम्भावना र युवा सम्वाद कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले कुनै पनि क्षेत्रको विकासका लागि त्यस क्षेत्रका नागरिकहरुको आर्थिक उन्नति हुनुपर्ने बताए । ‘जुन क्षेत्रका नागरिकको आर्थिक उन्नति हुन्छ, त्यही क्षेत्र विकासमा अघि बढ्छ’ उनले भने ‘हाम्रो विकासको मोडालिटी नै राज्यमा निर्भर रहेको छ, यसलाई बदल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति हुनुपर्छ ।’
निजी क्षेत्रको लगानी नभित्रिएसम्म कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै औद्योगिक विज्ञ समेत रहेका थापाले यस क्षेत्रमा लगानी भित्र्याउनका लागि सबै युवाहरुको महत्वपूणर् भूमिका रहने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार दीर्घराज उपाध्यायले टीकापुर सम्भावनाको खानी भएको बताउँदै यहाँको विकासका लागि एक अर्कामा सम्मान र स्वीकार गर्नुपर्ने बताए । उनले भने ‘राजा महेन्द्रले आरोग्यता प्राप्त गरेको टीकापुर ढिलो चाँडो उठ्छ नै यसका लागि यहाँका युवाहरुमा सकारात्मक परिवर्तन हुन जरुरी छ ।’
कार्यक्रममा बोल्दै कोइकाका कन्ट्री डाइरेक्टर विकास रावलले टीकापुरको स्थापना शिक्षा क्षेत्रबाटै भएको हुँदा शैक्षिक विकासमा ध्यान दिन जरुरी रहेको बताए । ‘टीकापुरको स्थानीय सरकारले पाँच वर्ष शिक्षा क्षेत्रमा मात्रै फोकस हुने हो भने पाँच वर्षमा यसलाई कसैले रोक्न सक्दैन’ रावलले भने ‘पछिल्लो समय यस क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी भित्र्याउन आवश्यक रहेको छ । यसका लागि यस क्षेत्रका सबै युवाहरु लाग्न पर्छ ।’
कार्यक्रममा बोल्दै इञ्जिनियर प्रकाश विष्टले लगानी मैत्री वातावरण निर्माण गर्न स्थानीय सरकार चुकिरहेको बताए । कार्यक्रम टीकापुर सरोकार समूहका सचिव नवराज भट्टराईको अध्यक्षतामा भएको हो ।



