टीकापुर, असोज २३
कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यका लागि टीकापुर घटनाका मुख्य योजनाकार आरोपी रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले टीकापुरस्थित नापी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन ।
उनीसँगै कैलाली–१ प्रदेश (क) बाट कैलाश चौधरी र प्रदेश (ख) बाट लक्ष्मण किशोर चौधरीले उम्मेदवारी दर्ता गरेका छन ।
यो क्षेत्रबाट २०७४ सालमा भएको निर्वाचनमा रेशम चौधरी अत्याधिक मतले विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मदनकुमारी शाह गरिमालाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए । उनी तत्कालिन निर्वाचनमा राजपाबाट उम्मेदवार रहेका थिए ।
उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनाको मुख्य आरोपी भन्दै उजुरी परेपछि फरार भएका थिए । उनी फरार रहेकै अवस्थामा चुनाव जितेका हुन । उनले २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका थिए । उनलाई २०७५ पुष १९ गते सिँहदरवारमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनी हाल डिल्लीबजार कारागारमा छन । उनले कारागारबाटै पार्टी चलाईरहेका छन । उनकै निर्देशनमा पार्टी स्थापना भएको हो । उनले पत्नी श्रेष्ठलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सारेका छन ।
सो पार्टीले स्थानीय तहको निर्वाचनमा कैलालीका चार पालिकामा जितेको छ । उसले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको छ । स्थानीय पालिकामा जिते पछि पार्टीले प्रतिनिधि सभा र प्रदेश सभामा समेत जित्ने दावी गर्दै आएको छ ।



