गुलरिया, असोज २४
नेपाली कांग्रेसले एउटै सिटमा दुई जनालाई टिकट थमाएको छ । बर्दिया जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को उम्मेदवारका लागि कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री संजयकुमार गौतम र बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकाससिंह राठौरलाई पार्टीले मनोनयन पत्र दिएको छ ।
एकै पार्टीबाट एउटै सिटका लागि दुवै जनाले केन्द्रमा मनोनयन पत्र दर्ता गराएपछि आइतबार बर्दियामा खैलाबैला नै मच्चियो । देशकै ठूलो दल नेपाली कांग्रेस पार्टीको हर्कतले कार्यकर्ता एवम् तमाम शुभचिन्तकहरुलाई द्विविधा पारेको छ । कतिपयले त सामाजिक सञ्जालमा दिएको बधाई फिर्ता पनि लिए ।
नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र दुवै जनाको सार्वजनिक पनि भएको छ।
निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बर्दियाले अनुसूचि १५ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा २९ सँग सम्बन्धित मनोनयन पत्र दर्ता भएको उम्मेदवारको नामावलीमा कांग्रेसबाट संजय गौतमको नामसहित १० जनाको नाम प्रकाशित गरेको छ ।
गौतम गठबन्धनतर्फका उम्मेदवार हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मनोनयन पत्र दर्ता भएकाहरुको लिष्टमा राठौरको नाम समावेश छैन । मनोनयन दर्ता रजिष्टरमा दुवैको नाम दर्ता भएपनि कम्प्युटरमा एउटै पदको लागि दुई जनाको नाम ईन्ट्रि नहुने बर्दियाका मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले बताए ।



