टीकापुर, असोज २४
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जसमध्ये २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा ललितबहादुर थापा र विजयराज सिँह मयाल रहेका छन ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली काँग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरी, नेकपा एमालेबाट तपेन्द्रबहादुर रावल र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ रहेका छन । चौधरी काँग्रेस केन्द्रिय सदस्य हुन । उनी सत्तापक्ष गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन ।
उम्मेदवारी दर्ता गरेका रावल टीकापुर नगरपालिकाका पूर्वमेयर हुन भने श्रेष्ठ नागरिक उन्मुक्तिकी अध्यक्षका साथै रेशमलाल चौधरीकी पत्नी हुन ।
त्यस्तै उम्मेदवारी दर्ता गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद जैशी (ढुंगाना), राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका धनबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोजबहादुर विश्वकर्मा, नेपालका लागि नेपालको पार्टीका मानबहादुर चौधरी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर रहेका छन ।
क्षेत्र नं. १ अन्र्तगत प्रदेश सभा सदस्यका लागि प्रदेश (क) बाट १० जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सदस्यमा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा ओजारीलाल चौधरी, चन्दर कठरिया र छोटेलाल चौधरी रहेका छन ।
उम्मेदवारी दर्ता गर्नेमा नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडी, जनता समाजवादी पार्टी नेपालका भगतराम चौधरी र नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी रहेका छन । बिनाडी सत्तापक्ष गठबन्धन र भगतराम एमालेसँगको गठबन्धनका उम्मेदवार हुन ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कृष्णबहादुर चौधरी, नेपालका लागि नेपाली पार्टीका चन्द्रसिँह बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजबहादुर बम र नेपाल मजदुर किसान पार्टीका विष्णाकुमारी थापामगरले उम्मेदवारी दर्ता गरेका छन ।
प्रदेश सभा सदस्यका लागि प्रदेश (ख) बाट चार जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा केशरबहादुर साउँद, गणेशकुमार चौधरी, चक्रबहादुर चौधरी र दिर्घराज जैशी रहेका छन । प्रदेश (ख) मा जम्मा ११ जनाको उम्मेदवारी परेको छ ।
राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गर्नेमा काँग्रेसका रणबहादुर रावल, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी रहेका छन ।
अन्य उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीका गगनबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर थापा, नेपालका लागि नेपाली पार्टीका बीरबहादुर शाही, नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शेरसिँह विश्वकर्मा रहेका छन ।
निर्वाचन कार्य तालिका अनुसार असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते मनोनयन र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र २५ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
त्यस्तै २६ गते १० देखी १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, १ देखी ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखी ७ बजेसम्म चुनाव चिन्ह प्रदान गरिने सहायक निर्वाचन अधिृक लक्ष्मी ओडले जानकारी दिईन । निर्वाचन आयोगले यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन मिति तोकेको छ ।



