Hamro Patra
टीकापुरका विभिन्न ब्लक जलमग्न

टीकापुर, असोज २४

टीकापुर नगरपालिका वडा नं. १ का ब्लक नं. सी, १४, १७, १८, १९ मा बाढीको पानी पसेको छ ।

लगातारको वर्षाका कारण समिति कुलाको पानी ओभरफ्लो भएर ब्लक नं. १७, सी हुँदै ती ब्लकहरुमा प्रवेश गरेको हो ।

रानी कुलाको परम्परागत मुहान क्षेत्रबाट विजयनगर, शक्तिनगर, मुक्तकमैया लगायतका शिविरमा समेत बाढी पसेको छ । सो बाढी समेत ती ब्लकहरुमा आएको हो ।

ब्लक नं. १७ का केही घर र ब्लक नं. सीका अधिकांश घरमा पानी पसेको छ । त्यस्तै ब्लक नं. १४ को मुख्य सडक समेत जलमग्न भएको छ । त्यहाँका अधिकांश घरमा समेत पानी पस्ने क्रममा छ ।

यता, इलाका प्रहरी कार्यालयदेखि टीकापुर उद्योग वाणिज्य संघसम्मको बजार क्षेत्रको मुख्य सडक समेत जलमग्न भएको छ ।

समितिको कुलाको पानी ब्लक नं. १२ स्थित गणेश मन्दिर भएर मुख्य सडकमा आइरहेको छ । यस्तै अवस्था रहे पानी मुख्य बजार क्षेत्रमा समेत प्रवेश गर्ने देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update