टीकापुर, असोज २५
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा सदस्यका लागि ४९ जना चुनावी मैदानमा उत्रिएका छन् । १० वटा प्रदेश सभा क्षेत्र रहेको कैलालीमा ९६ जना प्रदेश सभा सदस्य पदका लागि मैदानमा उत्रिएका हुन् ।
संघ र प्रदेश गरी कैलालीमा १ सय ४५ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले जानकारी दिए ।
भट्टले दिएको जानकारी अनुसार राजनीतिक दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट प्रतिनिधि सभामा १० र प्रदेश सभाका लागि ३२ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि दुई स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ को प्रदेश क मा ७ जना राजनीतिक दलबाट उम्मेदवार बनेका छन् भने ३ जना स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर १ को प्रदेश ख मा ८ जना राजनीतिक दलबाट छन् भने ४ जना स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि ९ जना र प्रदेश सभा तर्फ २ क मा १ जना स्वतन्त्र र ८ जना राजनीतिक दलको गरी ९ उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ को ख मा ४ जना स्वतन्त्र र ७ जना राजनीतिक दलको गरी ११ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा २ स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर ३ को क मा २ स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ८ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर ३ को ख मा ७ जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभामा १ जना स्वतन्त्र र नौ जना राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभातर्फ ४ (क)मा ६ स्वतन्त्र र ७ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ भने ४ (ख) मा दुई जना स्वतन्त्र र ४ जना राजनीतिक दलका गरी ६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा ५ जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ ५ (क) मा १ स्वतन्त्र र ५ जना राजनीतिक दलका गरी ६ जनाको उम्मेदवारी परेको छ, भने ५ (ख)मा एक जना स्वतन्त्र र ७ जना राजनीतिक दलका गरी ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंसिर ४ गते एकपटक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैन ।



