Hamro Patra
३२ सिट रहेको सुदूरपश्चिममा १३ महिला चुनाव लड्दै

टीकापुर, असोज २६

३२ वटा सिट रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्यमा १३ जना महिला उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । कुल दुई शय २३ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेश सभा ’क’ बाट नेकपा एमालेकी कमला कुमारी ओलीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी छन्। कैलाली ४ ’ख’ मा स्वतन्त्र रूपमा भगवती ओझाले उम्मेदवारी दर्ता गराएकी छन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी ओझाले प्रत्यक्षतर्फ पार्टीबाट उम्मेदवार हुन नपाएपछि स्वतन्त्र रूपमा आइतबार उम्मेदवारी दर्ता गराएकी हुन्।

नेपाल मजदूर किसान पार्टीबाट कैलाली २ ’ख’ मा दीपा विष्ट र कञ्चनपुर १ ’ख’ मा भागरथी देवी रावलले टिकट पाएका छन्।

कञ्चनपुर क्षेत्र नम्बर २ ’क’ मा नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरी, बैतडी १ ’ख’ मा नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा र दार्चुला १ ’ख’ बाट नन्दी कामीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

यस्तै, बझाङ प्रदेश सभा ’ख’ मा बिपी कांग्रेसबाट निर्मला कुमारी विक, कैलाली २ ’क’ बाट नेपाल मजदूर किसान पार्टीबाट लक्ष्मी पुन मगर, कैलाली क्षेत्र नम्बर ३ प्रदेशसभा ’क’ बाट नेपाल मजदूर किसान पार्टीबाट रञ्जना कुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, कैलाली क्षेत्र नम्बर ४ प्रदेशसभा ’क’ मा मौलिक जरो किलो पार्टीबाट सावित्री गिरी, बैतडी १ प्रदेशसभा ’क’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णा पन्त, कञ्चनपुर १ प्रदेशसभा ’ख’ बाट नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी र कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशसभा ’ख’ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मीदेवी डंगौरा थारु उम्मेदवार बनेका छन्।

२०७४ सालमा भएको पहिलो प्रदेश निर्वाचनमा बझाङ ’ख’ बाट देवकी मल्ल प्रदेशभरि एक महिलामात्र प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। टिकट नपाइएपछि महिला नेतृहरूले ठूला दलले नै ३३ प्रतिशत अवसर नदिएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update