Hamro Patra
एमालेका मयाल पार्टीबाट निस्कासित

टीकापुर, असोज २८

पार्टीले दिएको उम्मेदवार विरुद्ध बागी उठेको भन्दै नेकपा एमाले सुदूरपश्चिमले एमालेका विजयराज सिंह मयाललाई पार्टीबाट निस्कासित गरेको छ ।

एमाले सुदूरपश्चिमले एक विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका मयाललाई पार्टीबाट निस्कासित गरेको हो ।

मयालले कैलालीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

मयालसँगै प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका पाँच जनालाई पार्टीले निस्कासन गरेको हो । प्रदेश सचिव धर्मराज पाठकले दिएको जानकारी अनुसार प्रतिनिधि सभा सदस्यका दुई र प्रदेश सभा सदस्यका तीन जना उम्मेदवारलाई कारबाही गरिएको छ ।

एमालेले एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई निस्कासित गरेको हो ।

प्रदेश सभा सदस्यका लागि कञ्चनपुरको क्षेत्र नम्बर १ को क बाट उम्मेदवारी दिएका भक्तबहादुर अधिकारी, क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका खेम सुवेदी, क्षेत्र नम्बर २ को क बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका टेकबहादुर हमाल, क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका टेकबहादुर साउँदलाई समेत निस्कासन गरेको हो ।

उनीहरुलाई पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले एमालेले कारबाही गरेको हो ।

एमालेले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पार्टीको विभिन्न जिम्मेवारीमा रहेका ५ जनालाई पार्टीको विधानको धारा ८० को ६ बमोजिमको गम्भीर प्रकृतिको अनुशासन उल्लंघन गरेकोले पार्टी बिधान तथा पार्टी केन्द्रको यस अघिको नीतिगत निणर्य अनुसार निजहरुलाई पार्टी सदस्य समेत नरहने गरी सम्बन्धित कमिटीबाट कारबाही भएको ब्यहोरा जानकारी गराउँदछु ।’

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update