Hamro Patra
समयमा काम गरिदिन बाढीपीडितको दबाब

टीकापुर, असोज २८

तटबन्धको काम समयमा नभएर बाढीले क्षति बढाएको भन्दै यहाँका बाढीपीडितले रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई दबाब दिन थालेका छन् । बिहीबार मात्रै टीकापुर र भजनी नगरपालिकाका गाउँलेले आयोजना प्रमुख केदारकुमार श्रेष्ठलाई भेटी समयमा काम नहुनुको कारण र बाढी, डुबान समस्याको दीर्घकालीन समाधान मागेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले २०७८ कात्तिकमा कणर्ालीमा आएको बाढीले तटबन्ध भत्काएको वनगाउँ क्षेत्रमा सुरक्षित गरिदिनुस् भनेर पटक पटक आग्रह गर्दा पनि आयोजनाले काम नगर्दा यस वर्ष वनगाउँ र फाँटा दुई गाउँमा पुनः क्षति भएको  बताए । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउँदले ठेकेदारले काम सुरु गर्ने तर पूरा नगर्ने गरेका कारण सत्तीकणर्ाली वनलगायतका क्षेत्रमा बर्सेनि सय बिघाभन्दा जमिन कटान भइरहेको बताए ।

आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले त्यस क्षेत्रमा ठेक्का पाएको कम्पनी सिद्धिसाई ह्याग्र्रिवालाई कालोसूचीमा राखी धरौटी जफत गरिसकेको बताए । उनले भने ‘नेपालको सार्वजनिक खरिद ऐनअनुसार त्यतिबेलाका प्रतिस्पर्धी अरू कम्पनीलाई बोलाउनुपर्ने र उनीहरू काम गर्न तयार नभए पुनः ठेक्का गर्नुपर्ने हुन्छ । त्यसैले ढिलो भइरहेछ’ निर्देशक श्रेष्ठले भने ‘गत वर्ष धेरै ठाउँमा तटबन्ध भत्काएकाले भएको बजेटले बढी जोखिम भएका स्थानमा मात्रै काम गर्दा यहाँ यस वर्ष पनि क्षति भएकोमा क्षमा माग्दछु, यो वर्ष समयमै पूरा गर्नेछु ।’

पथरैया नदीमा दुई वर्षअघि ठेक्का भएको तटबन्धको काम अलपत्र पार्दा यस वर्ष जनकपुर गाउँमा बाढीले ठूलो क्षति पुर्याएको भन्दै बिहीबार नै भजनी नगरपालिका-८ का जनता आयोजना कार्यालय पुगेका छन् । दुई वर्षअघि कालिका श्रीजयन्ती जेभीले साढे ५६ करोडमा १४.६ किलोमिटर तटबन्धको काम लिएर अलपत्र पारेको छ ।

तलमाथि तटबन्ध बनिसकेको तर बीचमै बाँकी रहेकाले त्यहीबाट बाढी पसेर क्षति भएको भजनी नगरपालिका-८ का वडाध्यक्ष पङ्कज चौधरी बताए । यहाँको बाढीले यस वर्ष गोरचौराका कालीराम चौधरीको ज्यान गएको छ । सयौँ पशुबस्तु मर्नुका साथै धानबाली नोक्सान भएको छ । पटक पटक गुनासो गर्दा पनि काम नभएकाले यस पटक धर्नामै बसेर भए पनि काम गराउन गाउँले सुझाव दिएकाले आयोजनामा आएको त्यहाँका अगुवा रामकृष्ण चौधरीले बताए ।

आयोजना निर्देशक श्रेष्ठले ठेक्का लागिसकेपछि कालिका कन्ट्रक्सनले श्रीजयन्तीलाई दिएको तर श्रीजयन्तीले काम गर्न नसकेकाले उसको धरौटीसमेत जफत गरेर अहिले कालिकाले बनाउने गरी काम अघि बढेको बताए । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा निर्माण कम्पनीले समयमा काम नगरिदिँदा बर्सेनि नदी कटान र डुबान हुँदै आएको छ ।

गोरखापत्र

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update