टीकापुर, असोज २९
टीकापुर अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि आवास निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष ०७९/८० बजेटबाट चिकित्सकीय आवास निर्माण हुने भएको हो ।
२ करोड ५० लाखको लागतमा निर्माण हुने भवनका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विहीवार सूचना प्रकाशित गरेको छ ।
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले प्रदेश सरकारको बजेटबाट अस्पतालमा दुई तलाको चिकित्सकीय आवास भवन निर्माणका लागि सूचना प्रकाशित भएको बताए ।
‘अस्ती विहीवार सूचना प्रकाशित भएको छ, डिजाइनमा चार तलाको भए पनि हाललाई दुई तला निर्माण हुनेछ’ अध्यक्ष सोडारीले भने ‘चार डाइनिङ हल, चार किचन, आठ वटा वेडरुम रहने भवन क्रमागत रुपमा चार तलाको हुनेछ ।’ उक्त भवन असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सोडारीले बताए ।
भवन बन्ने कुराले आफूहरु उत्साहित भएको बताउँदै अध्यक्ष साडोरीले भने ‘अस्पताल हाताभित्रै चिकित्सकहरुका लागि बस्नलाई समस्या थियो, डाक्टरहरु टीकापुर आउन गाह्रो मान्थे, अब भवन बनेपछि चिकित्सकलाई आउन सजिलो हुनेछ ।’
अस्पतालमा रहेको एक आवासीय भवन समेत जीर्ण बन्दै गएको थियो । केही मात्रामा राहत भएको बताउँदै अध्यक्ष सोडारीले अस्पतालको सेवा, सुविधा विस्तार गर्न समेत सजिलो हुने बताए ।
टीकापुर अस्पतालमा दैनिक रुपमा ६ शय बढी विरामीहरु उपचारका लागि आउने गरेका छन् । विगत लामो समयदेखि आवासीय भवनको आवश्यकता रहँदै आएको थियो ।



