टीकापुर, असोज ३१
कैलालीको टीकापुरस्थित अग्रणी शैक्षिक संस्था टीकापुर बहुमुखी क्याम्पसले आफ्नो अतिक्रमित जग्गा खाली गराई दिन नगरपालिकालाई पत्राचार गरेको छ ।
सुदूरपश्चिम विश्व विद्यालयको कृषि विज्ञान संकाय डीन कार्यालय समेत रहेको क्याम्पसले टीकापुर नगरपालिकालाई आफ्नो अतिक्रमित ३ शय विघा जग्गा खाली गरिदिन आइतवार पत्राचार गरेको हो ।
क्याम्पस प्रमुख केशरबहादुर कुँवरको हस्ताक्षर रहेको पत्रमा २०६३ सालदेखि क्याम्पसको जग्गा अतिक्रमण भएर विभिन्न संरचना निर्माण भएको उल्लेख छ ।
पत्रमा भनिएको छ ‘क्याम्पसको नाममा दर्ता श्रेस्ता रहेको जग्गा अन्तर्गत ३०० विघाह जंगल क्षेत्र २०६३ सालदेखि विभिन्न नाममा अतिक्रमित भई सो जग्गामा विभिन्न संरचना निर्माण तथा बसोबास भएकोले क्याम्पसको अतिक्रमित जग्गा खाली गराई दिनु हुन अनुरोध गरिन्छ ।’
यसअघि टीकापुर नगरपालिकाले असोज २६ गते नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरेको थियो ।






