टीकापुर, कार्तिक १
टीकापुर नगरपालिकाले तोकिएको स्थान भन्दा अन्यत्र यात्रु ओराल्ने र चढाउने सार्वजनिक सवारी साधनलाई कारवाही गर्ने भएको छ ।
नगरपालिका, इलाका प्रहरी र बस व्यवसायी समितिहरुबिच आज भएको छलफलपछि पालिकाले तोकिएको स्थान भन्दा अन्यत्र यात्रु ओराल्ने र चढाउने सार्वजनिक सवारी साधनलाई कारवाही गर्ने भएको हो ।
नगरपालिका र बस व्यवसायी समितिबिच यात्रु चढाउन र ओराल्नका लागि मुख्य बसपार्क र सिटी बसपार्कमा मात्रै रोक्ने सहमति भएको हो ।
नगरपालिकाका नगर उपप्रमुख खड्गबहादुर शाहले व्यवसायीहरुसँगको छलफलपछि मुख्य बसपार्क र सिटी बसपार्कमा मात्रै गाडी रोक्ने सहमति भएको बताए ।
‘जथाभावी पार्किङ हुँदा सडक नै अवरुद्ध हुने गरेको पाइयो’ उपप्रमुख शाहले भने ‘ट्राफिक व्यवस्थापनका लागि समेत तोकिएको निश्चित स्थानमा मात्रै गाडी रोक्न आजैदेखि लागु हुने गरी सहमति गरेका छौं ।’
उपप्रमुख शाहले भने ‘हामीले जुन प्रावधानका लागि संरचना बनाएका छौं, त्यसैको प्रयोग गर्नुपर्छ, बसपार्क बनेको छ, सिटी बसपार्क छ, बस सडकमा रोक्नु त राम्रो भएन ।’
यसअघि समेत पालिका र समितिबिच सार्वजनिक सवारी साधनलाई बसपार्क र सिटी बसपार्कमा मात्रै यात्रु आरोल्न र चढाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
उपप्रमुख शाहले निणर्यको कार्यान्वयन भए नभएको बारे नियमित अनुगमन गरिने बताए । ‘प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको टिमले नियमित अनुगमन गर्ने व्यवस्था गर्छौं’ शाहले भने ‘नियमको पालना नभए नियमानुसार ट्राफिक प्रहरीले जरिवाना काट्नु हुन्छ ।’
कणर्ाली रिभर साइड बस व्यवसायी समितिका इञ्चार्ज धु्रव ठकुल्लाले बसपार्क र सिटी बसपार्कमा मात्रै यात्रु ओराल्न र चढाउनका लागि पालिकासँग सहमति भएको बताए । ‘हामी त पहिले पनि यसकै पक्षमा हो, नगरपालिकाले शौचालय, खानेपानी र यात्रुलाई बस्ने व्यवस्था गरिदिए कार्यान्वयन गर्न सजिलो हुन्छ’ ठकुल्लाले भने ‘यसका लागि हामीले नगरपालिकासँग आफ्ना मागहरु राखेका छौं, छिट्टै ती मागहरु सम्बोधन हुने विश्वास छ ।’
सडकमा जथाभावी सवारी साधन राख्नाले दुर्घटना समेत हुन गरेको थियो ।





