चौमाला, कात्तिक १
कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार बीरबहादुर बलायरले मंसिर ४ मा हुने निर्वाचन एक आन्दोनलको स्वरुप भएको बताएका छन ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको वनबेहडामा आज आयोजित सभालाई सम्बोधन गर्दै बलायरले ओलीको जालझेल विरुद्ध आन्दोलन भएको बताए ।
उनले संविधान च्यात्ने एमालेलाई मतदान गर्ने कि संविधानको संरक्षण गर्ने बाम–लोकतान्त्रिक गठबन्धलाई मतदात गर्ने मतदाताको हातमा फैसला गर्ने अधिकार भएको बताए ।
‘संविधानको संरक्षण बाम–लोकतान्त्रिक गठबन्धनले गरेको हो, त्यसैले गठबन्धन आजको आवश्यकता हो’ उनले भने –‘संविधान मास्ने विरुद्ध एक हुनु आजको आवश्यकता हो ।’
उनले गठबन्धन मात्रै नभएको भए मंसिर ४ को निर्वाचनको कल्पना त के स्थानीय तहको निर्वाचन समेत नहुने दावी गरे । ‘ओलीले निर्वाचन चाहेका थिएनन्’ उनले भने –‘सर्वसत्ताबादी सोचका साथ राष्ट्रपतिलाई आफ्नो स्वार्थ पूरा गर्न ओलीले पटक पटक संविधानमाथि धावा बोलेको थिए ।’
सुदूरपश्चिमको अधिकारका लागि ऐसास दिलाउन केन्द्रमा आफू लागि पर्ने बताउँदै उनले भने,‘जनताको सुख दुःख र विकासका लागि म केही गरेर देखाउँछु । खोक्रा आश्वासन भने दिँदैन ।’
राजनीतिमा सम्झौता भए अनुसार बाम–लोकतान्त्रिक गठबन्धनका लागि आफू कहिल्यै नचुक्ने उनले बताए । ‘लोकतन्त्रका लागि संघर्ष गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सधैँ सम्मान र आदर गर्नेछु,’ उनले भने–‘चुनावमा भोट दिने मतदातासँग म सधैँ नैतिकरुपमा बाँधिएको हुनेछु ।’
सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री दीर्घराज भाटले पार्टीले न्याय गरेरै बलायरलाई कैलाली पठाएको बताए ।
नेता भाटले जिवनको महत्वपूर्ण समय राजनीतिक संघर्षमा बिताएका बलायरलाई पार्टीले उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पठाएको बताएका हुन् ।
प्रदेशका उम्मेदवार दीर्घ सोडारीले प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको बताए ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोडारीले समानुपातिक ढंगबाट निर्वाचन क्षेत्रमा करोडौंका बहुवर्षिय योजनाहरु सुचारु भइरहेको बताएका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरु आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै उनले भने,‘कति योजनाहरु निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरु ठेक्का प्रकृयामै छन् ।’
चौमालाको पुरानो बजार जोड्न पक्की पुलदेखि ग्रामीण सडक कालोपत्रे जस्ता तमामौ विकासे योजना निरन्तर अगाडि बढिरहेको उनले बताए । उनले भने,‘मैले अघिल्लो निर्वाचनमा चुरे क्षेत्रका मतदातासँग मत माग्दै गर्दा अर्को निर्वाचनमा गाडी चढेरै आउने भनेको थिएँ, सोही अनुरुप चुरे र मोहन्यालका गाउँगाउँमा सडक सञ्जाल जोडिसकेको छ । यस निर्वाचनमा म ति दुर्गम गाउँमा गाडी लिएरै आउँदैछु ।’
चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री सोडारीले यो निर्वाचन अहिले अतिवादी केपी ओली प्रवृत्तिका विरुद्ध भएको बताउँदै भने,‘हाम्रो लडाइँ भनेको ओली प्रवृत्तिका विरुद्ध हो । ओली प्रवृत्ति देशमा हावी भएमा प्रतिगमन बढ्ने खतरा भएकाले बाम–लोकतान्त्रिक गठबन्धन देशको रक्षार्थ एक ठाउँमा उभिएको हो ।’
ओलीले राष्ट्रपतिसँग मिलेर संविधानमाथि हमला गरेको बताउँदै उनले भने,‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विघटन गर्न तत्कालीन प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवरासँग सेटिङ गरेर पार्टी अलग्याएका हुन् ।’





