टीकापुर, कात्तिक ५
टीकापुर अस्पतालले शव ढुवानी वाफत लिँदै आएको सम्पूर्ण रकम एकजना व्यवशायीले व्यहोर्ने भएका छन । टीकापुरस्थित नयाँ तुलसी टे«ड लिंक प्रालिका प्रबन्ध निर्देशक परशुराम चपाँईले अस्पतालले शवबाहनमा शव ढुवानी गरे वाफत लिँदै आएको रकम तिरिदिने भएका हुन ।
यस बारेमा प्रालि र अस्पताल व्यवस्थापन समितिबिच आज सम्झौता भएको छ । प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चपाँई र समितिका तर्फबाट अध्यक्ष झपट सोडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार चपाँईले अस्पताललाई एकमुष्ठ वार्षिक ३ लाख रुपैयाँ तिर्ने छन । अस्पतालले टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाभित्र शव ढुवानी वाफत कुनै पनि संघसंस्था र व्यक्तिहरुबाट रकम लिन नपाईने भएको छ ।
ती बाहेकका ठाउँमा शव ढुवानी वाफत भने अस्पतालले तोकेको रकम असुल्न सक्ने सम्झौतामा उल्लेख छ । अस्पतालले यसअघि टीकापुर नगरपालिका भित्र शव ढुवानी गरे वाफत २ हजार रुपैयाँ लिने गरेको थियो । चपाँईले सबै रकम व्यहोर्ने भएपछि अब तीनवटा पालिकाका कुनैपनि व्यक्तिले आफन्तको शव ढुवानी गरेवाफत रकम तिर्नुपर्ने छैन ।
अस्पतालले सञ्चालन गरेको शव बाहन समेत नागरिकस्तरबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरिएको थियो । टीकापुर सरोकार समूहको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
समूहले शव बाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको थियो । अस्पतालमा उपचारका क्रममा निधन भएका व्यक्तिहरुलाई शव बाहनले सम्बन्धित व्यक्तिको घर वा दाहसंस्कार गर्ने स्थलसम्म पुर्याउने गरेको छ ।




