Hamro Patra
छठ पर्व सुरु

टीकापुर, कात्तिक ११
नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ । यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

आज सूर्योदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।

सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन् । आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व हिजोआज देशका अन्य ठाउँमा समेत मनाईन्छ ।

विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update