Hamro Patra

दार्चुला, कात्तिक ११
भारतको पिथौरागढबाट उछिट्टिर आएको ढुंगा लागेर दार्चुलाका एक जना बालकको मृत्यु भएको छ ।

महाकाली नदी पारी पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटान भइरहेको छ । गर्ग एन्ड गर्ग कम्पनीले सडक बनाउन चट्टान फुटाउन बिस्फोट गर्दा उछिटिएर आएको ढुंगाले लागेर आज बिहान दार्चुलाका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो । ब्याँस गाउँपालिका–२ तम्पाकुका महरा आमाबुवासँग खर्कबाट घर फर्किँदै थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्क पाण्डेका अनुसार हिँडिरहेका बेला बिहान अन्दाजी साढे १० बजे ढुंगा उछिट्टिएर महाकाली वारि आएर उनलाई लागेको थियो ।

डिएसपी पाण्डेले एक जनाको खुट्टामा सामान्य चोट लागेको बताए । उनले अहिले घटनास्थलमा गएका प्रहरीसँग सम्पर्क नभएकाले सबै विवरण आइनसकेको बताए ।

घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update