Hamro Patra
धान भित्र्याउने चटारो

टीकापुर, कार्तिक १४

दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ ।

धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका वडा नं. ७ का कृषक खोजरामीदेवी चौधरीले बताइन् ।

‘खेतमा पानी भएका कारण धान काट्न समस्या भएको थियो । पानी सुक्न केही समय दिँदा अहिले बाला झर्न थालेको छ । बढी पाकेर धानको बाला झर्न थालेकाले भित्र्याउन भ्याइनभ्याइ भएको हो’ खेतमै थ्रेसिङ गरिरहेकी चौधरीले भनिन् ।

आसन्न निर्वाचनको सन्दर्भमा नेता अहिले गाउँघर पुगिरहेका छन् । उनीहरू भोट माग्नका लागि गाउँ पुग्दा किसान भने खेतमै छन् । कतिपय नेता मतदाता भेटघाट गर्न र भोट माग्नका लागि खेतमै पुगिरहेका छन् ।

केही किसानले धान काटेर सके पनि धेरैजसो किसानको धान अझै खेतमै रहेको भजनी नगरपालिका वडा नं. ७, हिम्मतपुरका कृषक खुसीराम चौधरीले बताए । उनले खेतमा किसानलाई कामैकाम रहेको उल्लेख गरे ।

अहिले गाउँमा कम मान्छे भेटिने गरेकाले भोट माग्न आएका नेता खेततिरै भेटघाट गरिरहेको उहाँले बताए । कैलालीमा असोज २१ गतेदेखि केही दिन भएको वर्षाले धान खेतीमा असर गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update