Hamro Patra
भएन मूल्य निर्धारणः सस्तोमा धान बेच्दै किसान

टीकापुर, कार्तिक १६

धानको समर्थन मुल्य निर्धारण नहुँदा किसानहरु सस्तोमा धान बेच्न बाध्य भएका छन् । सरकारले यस वर्ष धानको समर्थन मुल्य तोक्न ढिलाई गरेपछि किसानहरु सस्तोमा धान बिक्री गर्न बाध्य भएका हुन् ।

कैलालीका किसानहरु यतिबेला धान खेती भित्र्याएर बढी भएको धान बिक्री गरिरहेका छन् । धान बिक्री गरेर खर्च जोहो गर्ने किसानहरुले समयमा समर्थन मुल्य नपाउँदा सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।

सरकारले धानको समर्थन मुल्य नतोक्दा प्रतिक्वीन्टल २ हजार २ शय देखि २ हजार ३ शय रुपैयाँसम्ममा किसानहरु धान बेचिरहेका छन् । गत वर्ष धानको मुल्य कात्तिक १८ गतेदेखि नै तोकिएको थियो । खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल २ हजार ७ शय ३५ र मध्यम धान २ हजार ८ शय ८५ मा खरिद सुरु गरेको थियो ।

सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेच्नु परेको लम्कीचुहा ६ गुलुराका किसान पुरन चौधरीले बताए । ‘हालसम्म मूल्य निर्धारण नै भएको छैन, हामी सस्तोमा धान बेचिरहेका छौँ’ उनले भने ‘भएको धान बेचेर हिउँद लागि मल, बिउ खरिद गर्नुपर्छ, त्यही भएरै सस्तामै बेचेको छु ।’

सरकारले समर्थन मूल्य नतोकेको र धान राम्रोसँग नसुकेको कारण सुरुआती चरणमा कम मुल्यमै धान खरिद गरिरहेको गल्ला व्यापारीहरु   बताउँछन् ।

मन्त्रिपरिषद्को निणर्यले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्राचार गर्दछ । धानको मुल्यबारे हालसम्म जानकारी नआएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताए ।

‘मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौँ’ उनले भने ‘अहिले व्यापारीले आ-आफ्नै तरिकाले धान खरिद गरिरहेका छन ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update