Hamro Patra
गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध

टीकापुर, कार्तिक १६

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ स्थित बबई बहुमुखी क्याम्पस नजिकै गुलरिया-राजापुर सडकखण्डमा विंगरले ठक्कर दिई एक महिलाको मृत्यु भएपछि स्थानीय एवम् आफन्तहरुले सडक बन्द गरेका छन् । सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका-२ घर भइ गुनपा ४ क्याम्पस रोडमा डेरा गरी बस्ने ४९ वर्षीया सूर्यकला राजीको भे १ ज १११२ नम्बरको विंगरले ठक्कर दिँदा मंगलबार बेलुकी निधन भएको थियो ।

बन्दका कारण राजापुरबाट गुलरिया आउने र गुलरियाबाट राजापुर जाने सवारी साधन अवरुद्ध छन् । सडक खुलाउनका लागि घटना घटाउने सनराइज यातायात प्रालि नेपालगञ्जको समिति, पीडित र पीडक पक्षलाई बोलाएर छलफलको तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।

गाडीका चालक घनश्याम केसीलाई नियन्त्रणमा लिएका छौं । घटनाको अनुसन्धान भैरहेको छ । मृतकको शव हस्पिटलमै रहेको डीएसपी बोहोराले जानकारी दिए ।

घटनापश्चात् समिति एवम् पीडक पक्षले बेवास्ता गरेपछि सडक अवरुद्ध गरेको स्थानीयले बताएका छन् । दोषीलाई कारवाही र पीडितलाई क्षतीपूर्ति दिनुपर्ने स्थानीय एवम् आफन्तको माग छ ।

पीडितहरुले घटनास्थल क्षेत्रको सडकमा टायर बाल्दै ढुंगा मुढाले छेकेर सडक जाम गरेका हुन् । घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी तैनाथ  छन् । शिघ्र पीडित र पीडकबिच सहमती गरी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update