टीकापुर, कार्तिक १६
टीकापुर नगरपालिकाले नगरका विभिन्न चोक तथा मुख्य सडकहरुमा सडक बत्ती जडान गरेको छ ।
‘उज्यालो टीकापुर’ कार्यक्रममार्फत् वडा नं. १ को मुख्य बजार क्षेत्रका विभिन्न चोक तथा अन्य वडाका मुख्य बजार तथा चोकहरुमा सडकबत्ती जडान गरिएको हो ।
वडा नं. २ देखि ९ सम्म प्रत्येक वडामा ५० हजार रुपैयाँ तथा वडा नं. १ मा झण्डै ३ लाख बराबरका सेल्फ अनअफ सडकबत्ती जडान गरिएको नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले जानकारी दिए ।
इञ्जिनियर रावलका अनुसार वडा नं. १ मा मुख्य चोक र मुख्य सडक गरी ६० वटा बत्ती जडान गरिएको छ भने अन्य वडामा १० वटाका दरले बत्ती जडान गरिएको छ ।
बजारका मुख्य चोकहरुलाई लक्षित गर्दै नगरपालिकाले हाइमास्ट लाइट समेत जडान गर्ने योजना बनाएको छ । बजार खडक चोकमा सञ्चालन भएको हाइमास्ट लाइट जस्तै अन्य चोकमा जडानका लागि टेण्डरको प्रक्रियामा रहेको इञ्जिनियर रावलले बताए ।
भदौ २४ र २५ गते आयोजना भएको नेपाल जेसीजको क्षेत्र घ सम्मेलनदेखि नै नगरलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख रामलाल डगौरा थारुले बताए ।
‘उज्यालो टीकापुर’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ नगर प्रमुख थारुले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ ।’ नगर प्रमुख थारुले उज्यालो टीकापुर कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन् ।
नगरपालिकाद्धारा जडान गरिएका सडकबत्ती रात पर्दा आफै बल्ने र उज्यालो हुँदा आफै बन्द हुने प्रविधिका छन् ।




