Hamro Patra
मेरो प्रमुख कर्तव्य देश विकासः प्रधानमन्त्री देउवा

डडेल्धुरा, कार्तिक १९

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास आफ्नो प्रमुख कर्तव्य रहेको बताएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संयुक्त लोकतान्त्रिक गठबन्धनले डडेल्धुराको अजयमेरु गाउँपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै समग्र देशको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।

आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेको भन्दै देउवाले अब देशको समृद्धि र सुदूरपश्चिमको विकासको पक्षमा लाग्ने बताए । डडेल्धुरामा पर्यटकीय सडक निर्माण गर्ने उद्घोष गर्दै देउवाले एयरपोर्ट निर्माण, मेडिकल कलेज सञ्चालनलगायतका महत्वपूणर् काम आफ्नै पालामा सम्पन्न गर्ने दाबी गरे ।

उनले भने, ’अबको मेरो काम भनेकै देशको विकास र समृद्धि ल्याउने हो ।’ देशमा राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनले जित्नुपर्ने देउवाले बताए । उनले भने, ’हामीले संसद भङ्ग हुनबाट रोक्यौं जोगायौं, गठबन्धन चुनावपछि पनि दिगो र बलियो हुनेछ ।’

आफूसँग निरन्तर तीन पटक निर्वाचन लडेका माओवादी केन्द्रका नेता खगराज भट्ट गठबन्धनबाट प्रदेश सभामा उम्मेदवार रहेको बताउँदै देउवाले माओवादी, समाजवादी लगायतका दलसँगको गठबन्धन तत्काल नटुट्ने बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update