टीकापुर, कात्तिक २१
जिल्ला प्रशासन कार्यालय कैलालीले गएराति देखी जिल्लाभर मदिराको कारोबारमा रोक लगाएको छ । कार्यालयले एक सूचना जारी गरी कात्तिक २० गते राति १२ बजेपछि मदिरा बिक्री वितरण र सेवन नगर्न भनेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मर्यादित, स्वच्छ, पारदर्शी, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एवं निर्वाचन आचारसंहितालाई कडाईका साथ पालना गराउन जिल्ला प्रशासन कार्यालयले मदिराको कारोबारमा रोक लगाएको हो ।
गृह मन्त्रालयले मतदानको दिन भन्दा १५ दिन अगावै प्रचार प्रसारको अवधिमा मदिरा बिक्री वितरण र सेवन गर्न रोक लगाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा निषेध गरिएका कार्यहरु गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने बताईएको छ ।




