Hamro Patra
चुनावी प्रचार प्रसारमा व्यस्त दलहरु

टीकापुर, कार्तिक २२

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चयनका लागि हुने आमनिर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका उम्मेदवाहरु प्रचारप्रसारमा व्यस्त छन् । राजनीतिक दलहरु यतिबेला घरदैलो, आम सभा जस्ता कार्यक्रम गर्दै मतदातालाई आफ्नो पक्षमा फकाई रहेका छन् ।

मुख्य रुपमा काँग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध दल, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्टिय प्रजातन्त्र पार्टी लगायत केही स्वतन्त्र उम्मेदवारहरु समेत मतदाता फकाई रहेका छन् । उनीहरुले आफ्ना घोषणा पत्रमार्फत् मतदाताको घरदैलोमा पुगेर प्रचार प्रसार गर्दै आफ्ना पक्षमा जनमत जुटाई रहेका छन् ।

कैलाली क्षेत्र नं. १ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राम जनम चौधरी आफ्ना एजेण्डासहित प्रचार प्रसारमा व्यस्त रहेको बताउँछन् । ‘हामीले मतदाताहरुलाई आफ्ना एजेण्डा बुझाउँदै मत मागिरहेका छौं’ पूर्वमन्त्री समेत रहेका चौधरीले भने ‘मतदातालाई हामीले गरेका काम र अब गर्ने कामहरुको बारेमा जानकारी दिँदैछौं । हामी उत्साहित छौं ।’

त्यस्तै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य तपेन्द्र रावलले चुनावी कार्यक्रममा व्यस्त रहेको बताए । ‘नेकपा एमालेको घोषणा पत्र अनुसार सुखी नेपालीः समृद्ध नेपाल निर्माणको मुख्य एजेण्डालाई जनतासमक्ष पुगाई रहेका छौं’ रावलले भने ‘यस क्षेत्रका जनताले हाम्रो मुल्यांकन गर्नेछन् ।’

अन्य दलका उम्मेदवारहरु समेत प्रचार प्रसारमा व्यस्त छन् । चुनावको मिति नजिकिएसँगै उनीहरुले आफ्ना पक्षमा जनमत जुटाउन प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update