Hamro Patra
भुकम्पले घर भत्किदा ६ जनाको मृत्यु, ५ घाईते

डोटी, कात्तिक २३
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युटको भूकम्पले मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सानागाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय भगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको मृत्युु भएको छ । त्यस्तै इन्नरीदेवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएका छन् । भूकम्पले सोही गाउँका ८ घरमा पूर्ण रुपमा क्षति भएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पका कारण ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ ।

त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा सोही ठाउँलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update