Hamro Patra
गत वर्षभन्दा २ शय २६ रुपैयाँले बढ्यो धानको मुल्य

टीकापुर, कार्तिक २३

सरकारले गत वर्ष भन्दा २ शय २६ रुपैयाँ बढाएर धानको समर्थन मुल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले गत वर्ष भन्दा क्विन्टलमा २ शय २६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।

यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिकटन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिकटन धान खरिद गर्ने सरकारी योजना छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update