टीकापुर, कात्तिक २४
विकास निर्माणका काममा ढिलाईसुस्ती भैरहेको जनगुनासो बढेको बेला इलाका प्रशासन कार्यालय टीकापुरको भवन भने निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ ।
निर्माण कार्यको जिम्मेवारी पाएको नागार्जुन कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयभन्दा तीन महिना अघि नै निर्माण सम्पन्न गरेको छ । २०७७ पुस २६ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम २०७९ पुस २५ गते सम्पन्न हुनुपर्ने उल्लेख छ ।
निर्माण कम्पनीले भने भवन निर्माणको काम २०७९ असोज ७ गते नै सम्पन्न गरेको छ । निर्माण कम्पनीले निर्धारित समय अगावै काम सके वाफत बोनस समेत प्राप्त गरेको छ । निर्माण कम्पनीका सञ्चालक दलबहादुर साउँदले १ सय ८ दिन वाफतको बोनस प्राप्त गरेको बताए ।
३ करोड २३ लाख ८८ हजार ५३० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको आज एक समारोहकाबीच नेपाल सरकारका गृह सचिव विनोद प्रकाश सिँहले उद्घाटन गरेका छन ।

निर्धारित समय अगावै भवन निर्माणको काम सम्पन्न गरेको भन्दै गृह सचिव सिँहले निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे । उनले निर्माण कार्यमा ढिलाई गरेका कारण त्यस्ता निर्माण कम्पनीहरुको आलोचना भैरहेका बेला समय अगावै काम सम्पन्न गरेर उदाहरणीय कार्य प्रस्तुत गरेकोमा आभार व्यक्त गरेका छन ।
‘सबैतिर समयमा काम हुन नसकेको भन्दै चर्को आलोचना हुने गरेको सुनिन्छ’ उनले भने –‘तर यहाँ त समय अगावै भवन निर्माण सम्पन्न भयो । यसबाट अरुले पनि सिक्नुपर्छ ।’
इलाका प्रशासन कार्यालय टीकापुर अहिलेसम्म भाडाको भवनमा सञ्चालित थियो । संघीय सरकारको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन निर्माण पश्चात सेवासुविधामा सहज हुने इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्काले जानकारी दिए ।
उनले कर्मचारी अभाव भएका कारण सेवासुविधामा ढिलासुस्ती भैरहेकोले तत्काल आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गरिदिन गृह सचिव सिँहसँग आग्रह गरेका छन ।
कार्यालयले जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका गरी पाँच वटा पालिकाका ३ लाख १५ हजार जनससंख्यालाई सेवा दिँदै आएको छ । हाल कार्यालयमा उपसचिवको नेतृत्वमा ११ जना कर्मचारी मात्रै कार्यरत छन । जसले सेवाग्राहीको काम समयमै सम्पादन गर्न कठिनाई हुने गरेको छ ।
कार्यालय प्रमुख खड्काले दैनिक ६० वटा नयाँ नागरिकता र ४० जति नागरिकताको प्रतिलिपि बनाउने गरेको जानकारी दिए । उनले राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका अन्य काम समेत प्रभावित हुने गरेको बताए ।
गृह सचिव सिँहले कर्मचारी अभाव सबैतिर भएकाले आवश्यकता अनुसार व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।




