Hamro Patra
रोकिएन मदिराजन्य पदार्थको बिक्री वितरण

टीकापुर, कार्तिक २५

मदिराजन्य पदार्थ बिक्री वितरणमा कैलाली प्रशासनले रोक लगाए पनि उक्त निणर्य कार्यान्वयन हुन सकेको छैन ।

आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले कार्तिक २० गतेदेखि लागू हुने गरी जिल्लाभर मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाएको थियो ।

प्रशासनबाट प्रभावकारी अनुगमन नहुँदा उक्त निणर्यले सार्थकता पाउन नसकेको हो ।

जिल्लाको सदरमुकाम धनगढी, टीकापुर लगायत अत्तरिया, चौमाला, मसुरिया, लम्की, सुखड, बौनिया, भजनी, जोशीपुर लगायतका बजार क्षेत्रका साना तथा ठूला होटल, रेस्टुरेन्टहरूमा निर्वाध रूपमा मदिराजन्य पदार्थको बिक्री वितरण भइरहेको छ ।

धनगढीका एक रेस्टुरेन्ट व्यवसायीले प्रशासनबाट सूचना जारी भएको जानकारी आएपनि बिक्री वितरण गर्न भने नरोकिएको बताए । उनले अहिलेसम्म कसैले पनि बिक्री वितरण गरे नगरेको बारे अनुगमन नभएका कारण आफूहरूले पनि बिक्री वितरण गरिरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीको अभावमा अनुगमन गर्न नसकेको स्वीकारे । उनले कर्मचारीहरू सबै निर्वाचनका लागि विभिन्न स्थानमा खटाउनु परेका कारण अनुगमन गर्ने कर्मचारीको अभाव भएको बताए ।

मदिरा बिक्रीवितरण भई रहेको बारे आफूलाई पनि जानकारी आएकाले छिट्टै प्रहरीको सहयोगमा अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनले बिक्रीवितरण तथा सेवन गरेको पाइए प्रचलित नियमानुसार कानुनी कारबाही गरिने समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update