टीकापुर, कार्तिक २६
टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले सहकारीले नवीनतम् प्रयोगको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रियता बढाउनु पर्ने बताएका छन् ।
टीकापुर बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नगर उपप्रमुख शाहले सो कुरा बताएका हुन् ।
परम्परागत शैली भन्दा सिर्जनशील काम गरेर सहकारीहरु समाजमा उदाहरणीय बन्दै गएको बताउँदै शाहले टीकापुर क्षेत्रका सहकारीले समेत त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
‘देशका अन्य भागका कतिपय सहकारीहरुले उदाहरणीय सिर्जनशील कार्यहरु गर्दै आइरहेका छन्’ शाहले भने ‘उद्यमशीलता विकासका लागि सहकारीले त्यस्ता कामहरु गर्नेतर्फ ध्यान दिनु पर्छ ।’
उनले नगरपालिकाले टीकापुर क्षेत्रमा औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरेको बताउँदै लगानी सम्मेलनमार्फत् औद्योगिक वातावरण बनाउने प्रयास भइरहेको बताए ।
‘हामी लगानी सम्मेलनमार्फत केही उद्योगहरु भित्र्याउने प्रयासमा छौं’ उनले भने ‘यसमा सहकारीहरु समेत केही नयाँ कामको प्रस्ताव ल्याए नगरपालिका सहयोग गर्न तयार छ ।’
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहनबहादुर वि.क. लुहारले सहकारीले सामाजिक कार्यमा जोड दिनुपर्ने बताए । उनले टीकापुर क्षेत्रमा रहेका सहकारीहरुले यस क्षेत्रमा रहेको सीमित पुँजीलाई परिचालन गरेर आर्थिक गतिविधिमा टेवा पुर्याई रहेको बताए ।
कार्यक्रममा संस्थाका संस्थापक संचालक इन्द्रबहादुर रावलका छोरा प्रवेश रावललाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । प्रवेशले कक्षा १२ को बोर्ड परीक्षामा सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ठ नतिजा ल्याएका थिए । त्यस्तै उत्कृष्ट ऋणीका रुपमा भीमबहादुर खड्का तथा उत्कृष्ट बचतकर्ताको रुपमा पदम विष्टलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष महेशप्रसाद कुश्मीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामबहादुर भण्डारी, पूर्व अध्यक्ष भीमबहादुर शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका व्यवस्थापक दीपकबहादुर थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । ऋण उपसमितिका संयोजक योगेश रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव धु्रवबहादुर रावलले गरेका थिए ।




