टीकापुर, कार्तिक २६
कैलालीको भजनीमा रहेको एक बंगुर फार्ममा गत कार्तिक १५ गते अफ्रिकन स्वाइन फिभर देखा परेपछि पशुसेवा विभागको टोली भजनी पुगेको छ ।
भाइरसबाट लाग्ने यो माहामारी कैलालीमा देखा पर्नासाथ स्थानीय, प्रदेश र संघीय सरकारबाट अन्यत्र फैलिन नदिन विभागको टोली भजनी पुगेको हो ।
प्रदेश सरकार अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाल र पशु सेवा विभागको टोली भजनी पुगेर अफ्रिकन स्वाइन फिभर नियन्त्रण गर्न सक्रिय भएका हुन्। कैलालीको भजनी नगरपालिकामा जयबहादुर बुढाको बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर देखा परे पनि अन्यत्र संक्रमण नफैलिएको दाबी गरिएको छ।
कैलालीको भजनीमा गत कात्तिक १५ गते पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो। कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो। बंगुर, सुँगुर र बदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर कैलालीमा देखा परेसँग सरकारी तवरबाट अन्यत्र फैलिन नदिन प्रयास थालिएको हो।
अफ्रिकन स्वाइन फिभर रोगका कारण एकै फार्मका ४ सय बढी बंगुर मरेपछि भजनीलगायत सुदूरपश्चिमका बंगुर पालन गर्ने किसान सतर्क भएका हुन्। संक्रमण फैलिएको बंगुर फार्ममा संघीय पशु सेवा विभागको टोलीले समेत भ्रमण गरेर नियन्त्रणा लागि आवश्यक सबै उपाय खोजिएको भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।




