टीकापुर, कात्तिक २८
टीकापुर नगरपालिका–१ स्थित टेकबहादुर साउँद बाल उद्यान केन्द्रको करिव दुई सय मिटर पर्खाल भत्किएको छ । केन्द्रको पश्चिम र उत्तरतर्फको पर्खाल भत्किएको छ ।
केन्द्रका अध्यक्ष जंगबहादुर साउँदले रातिको समयमा केही व्यक्तिले पर्खाल भत्काएको बताए । उनले यसअघि कात्तिक २१ गते राति समेत पर्खाल भत्काएको जानकारी दिए । उनले उद्यान भित्रका केही भौतिक संरचनामा समेत क्षति पुर्याईएको बताए ।
‘पटकपटक उद्यानलाई क्षति पुर्याउने काम भैरहेको छ’ उनले भने –‘उद्यान निर्माण हुन नदिने पक्षले क्षति पुर्याएको हो ।’
उद्यान भित्र रहेका निर्माणाधिन शालिकमा समेत क्षति पुर्याईएको छ । २०७२ साल भदौ ७ गतेको टीकापुर घटनामा ज्यान गुमाउने ९ प्रहरी र १ बालकको गरी १० जनाको शालिक निर्माणाधिन अवस्थामा छन ।
उद्यानमा निर्माण भएका कुनैपनि भौतिक संरचना गुणस्तरीय छैनन् । बाँकी रहेको पर्खाल हातले धकेल्दा समेत भत्किने गरेको छ । यसअघि भत्किएको पर्खाल समेत कसैले भत्काएको नभई भार थेग्न नसकेर आफै भत्किएको आशंका गरिएको छ ।
‘कसैले क्षति पुर्याउन भत्काएको जस्तो देखिदैन’ घटनास्थलको अवलोकन गर्न पुगेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले भने –‘पर्लाख निकै कमजोर निर्माण भएको रहेछ ।’
सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सचिव बिरबहादुर चौधरीले बताए । उनका अनुसार केन्द्रले नै पछि उद्यानको निर्माण थालेको हो । उद्यान निर्माणमा अहिलेसम्म राज्यका विभिन्न निकायको दुई करोड रुपैयाँ खर्च भैसकेको छ ।
उद्यानमा दुई करोड बराबरका कुनैपनि भौतिक संरचना निर्माण भएको महशुस नहुने स्थानीय बताउँछन ।




