टीकापुर, कार्तिक २९
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउने भएका छन्। उनी मंगरबार साँझ धनगढी आउने काँग्रेस कैलालीका सभापति नारायण भट्टले बताए। भट्टका अनुसार उनी आज धनगढीमा बस्नेछन्। बुधबार गृहजिल्ला जानेछन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आउने भएका हुन्। देउवा बुधबार बिहान गृहजिल्ला पुग्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए। त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम-लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए।
देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर-४ र २०७० मा कैलाली-६ बाट पनि विजयी भएका थिए।
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवासहित नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कणर्बहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन्।




