टीकापुर, मंसिर ३
मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलालीमा मतदान गराउन खटिएका कर्मचारी यतिबेला मतदान केन्द्र निर्माण र सर्वपक्षीय छलफलमा व्यस्त रहेका छन्। बिहीबार मतदान केन्द्रमा मतदान सामग्रीसहित पुगेका उनीहरू शुक्रबारदेखि सर्वपक्षीय छलफल र मतदान केन्द्र निर्माणमा जुटेका छन् ।
मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगी त्यहाँ गर्नुपर्ने काममा जुटिसकेकाले अब निर्वाचन तयारीको अन्तिम चरणमा पुगिसकेको निर्वाचन आयोगको कार्यालय कैलालीले जनाएको छ। कैलाली निर्वाचन क्षेत्र नं १ को मोति मावि मोतिनगर मतदानस्थलका मतदान अधिकृत श्यामराज पाण्डेले निर्वाचनअघि गर्नुपर्ने सबै काम भइरहेको बताए । ‘मतदानस्थल तयार, राजनीतिक दलसँग छलफल लगायतका कार्य सकेका छौँ’
उनले भने ‘मङ्सिर १ गते नै पुग्यौैँ, पुगेको सूचना निर्वाचन कार्यालयलाई जानकारी गरायौँ, कार्यविभाजन गरेर ९० प्रतिशत काम सकेका छौँ ।’ बिहीबार मतदान केन्द्रमा पुगेका कर्मचारीले बिहीबारदेखि नै अनुसूचीअनुसारका सूचना जारी गर्ने, शुक्रबारदेखि सर्वपक्षीय छलफल गर्ने, मतदान केन्द्र निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने र मतदान केन्द्र निर्माण गर्ने काम गरिरहेका छन्।




