टीकापुर, मंसिर ३
कैलाली क्षेत्र नं. १ को मतगणनास्थल तोकिएको छ । राजनीतिक दलहरुसँग आज भएको छलफलमा इलाका प्रशासन कार्यालय टीकापुरको नवनिर्मित भवनमा मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन अधिकृत राजेन्द्र सिँह भण्डारीले सबै मतपेटिका संकलन भएको २ घण्टा भित्रै मतगणना सुरु गर्ने बताए । उनले सबैभन्दा पहिले प्रतिनिधि सभा प्रत्यक्षतर्फको मत गणना हुने जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रदेश क र ख को प्रत्यक्षतर्फको मतगणना हुनेछ । त्यसपछि मात्रै प्रतिनिधि सभा समानुपातिक र प्रदेश सभा समानुपातिकको मत गणना गरिने बताईएको छ ।
निर्वाचन अधिकृत भण्डारीले निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आफूहरु सचेत रहेको बताए । उनले निर्वाचन अन्र्तगत मतगणना कार्य निकै संवेदनशील विषय भएको बताए ।
‘मतगणना संवेदनशील विषय हो’ उनले भने –‘बरु धेरै समय लागोस् । मतगणनामा कुनै विवाद नहोस् ।’ यसअघिका आमनिर्वाचनमा मतगणना धनगढी हुँदै आएको थियो । आयोगले यसवर्षदेखी सम्बन्धित क्षेत्रमै मतगणनाको व्यवस्था गरेको छ ।
निर्वाचन अधिकृत भण्डारीले निर्वाचनको सबै तयारी पूरा भएको जनाएका छन । उनले सबै मतदानस्थलमा कर्मचारी र निर्वाचन सामाग्री पुर्याईसकेको बताए ।
क्षेत्र नं. १ मा ४५ मतदानस्थलमा १२६ मतदान केन्द्र रहेका छन । टीकापुरस्थित सिटी हलमा एक अस्थायी मतदानस्थल तोकिएको छ । जहाँ १ हजार १७३ निजामति कर्मचारी, सेना र प्रहरीले प्रतिनिधि सभा समानुपातिकमा मतदान गर्नेछन ।
मंसिर ४ गते (भोलि) हुने आमनिर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट १ लाख ७ हजार ६७२ मतदाताले मतदानमा भाग लिने सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिईन ।




