Hamro Patra
कैलालीका तीन क्षेत्रमा नागरिकको अग्रता

टीकापुर, मंसिर ५
प्रतिनिधि सभातर्फ कैलालीको क्षेत्र नं. २ मा समेत नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । निर्वाचन कार्यालयका अनुसार ५ सय मत गणना हुँदा नागरिक उन्मुक्तिका अरुण चौधरीले २८० मत सहित अग्रता लिएका छन । त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका भगत बडुवालले ९४, नेकपा एमालेका झपटबहादुर रावलले ६९ र राप्रपाका भरतसिँह बिसीले २८ मत पाएका छन । हिजो सम्पन्न निर्वाचनमा कुल १ लाख ४ हजार ९०० मतदाता मध्ये ६० हजार ६२९ मत खसेको थियो ।

चौधरी हालै काँग्रेसबाट नागरिक उन्मुक्तिमा प्रवेश गरेका थिए । उनी काँग्रेसको महासमिति सदस्य समेत थिए । बडुवाल संविधान सभा सदस्य हुन भने रावल निवर्तमान साँसद हुन ।

योसँगै नागरिक उन्मुक्तिले कैलालीका तीन क्षेत्रमा अग्रता लिएको छ । उसले कैलालीका १ र ३ मा यसअघि नै अग्रता लिईरहेको छ ।

क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले अग्रता लिईरहेकी छन । अहिलेसम्म गणना भएको ४ हजार ४८ मत मध्ये श्रेष्ठले १ हजार ८५७ मत पाएकी छन । उनी सो पार्टीकी अध्यक्ष समेत हुन ।

दोस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले १ हजार १९९ र नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ४२१ मत पाएका छन ।

यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो ।

त्यस्तै क्षेत्र नं. ३ मा १२ हजार १६७ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकै गंगाराम चौधरीले ३ हजार ९३१, गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका नेता कृष्णकुमार चौधरीले २ हजार ९३२, राप्रपाका बिरेन्द्र बहादुर बमले २ हजार २४४ र नेकपा एमालेका गौरीशंकर थारुले २ हजार ६८ मत प्राप्त गरेका छन । यस क्षेत्रमा १ लाख ७ हजार ६५९ मतदाता रहेकोमा ६१ हजार ६६८ मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update