टीकापुर, मंसिर ७
कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै रहेको छ । प्राप्त मत परिणाम अनुसार सो पार्टीले क्षेत्र नं. १ र २ मा निरन्तरता अग्रता लिईरहेको छ ।
क्षेत्र नं. १ मा पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले मतान्तर फराकिलो बनाउँदै लगेकी छन । उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य पूर्वमन्त्री रामजनम चौधरीलाई ६ हजार ६२ मतले पछि पारेकी छन ।
अहिलेसम्म गणना भएको ३१ हजार ९५४ मतमा श्रेष्ठले १४ हजार ९१४ र चौधरीले ८ हजार ८५२ मत पाएका छन । नेकपा एमालेका तपेन्द्रबहादुर रावल ३ हजार १६३ मतका साथ तेस्रो स्थानमा छन । कुल १ लाख ७ हजार ६७२ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो ।
त्यस्तै क्षेत्र नं. २ मा नागरिक उन्मुक्तिकै अरुण चौधरीको अग्रता छ । अहिलेसम्म गणना भएको १३ हजार ६३ मतमा उनले ४ हजार ४९५ मत पाएका छन । गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले ४ हजार १९९ मत पाएर मतान्तरलाई कम बनाएका छन । तेस्रो स्थानमा रहेका नेकपा एमालेका झपटबहादुर रावलले ३ हजार ३९ मत पाएका छन ।
यहाँ १ लाख ४ हजार ९०० मध्ये ६० हजार ६२९ मत खसेको थियो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. ३ बाट विजयी सुरुवात गरेको छ । सो पार्टीका तर्फबाट गंगाराम चौधरी विजयी भैसकेका छन ।
उनी निकटतम प्रतिद्वन्दी भन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन । त्यस्तै एमाले उम्मेदवार गौरीशंकर थारुले ९ हजार ८७४ मत र राप्रपाका बिरेन्द्रबहादुर बमले ७ हजार ४७ मत पाएका छन ।
१ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ४ हजार २१ मत बदर भएको छ ।




