टीकापुर, मंसिर ७
कैलालीको मध्यवर्ती क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गरेको छ ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. ३ (१) मा धनश्याम चौधरी र ३(२) मा खुशीराम डगौरा थारु विजयी भएसँगै क्लिन स्वीप गरेको हो । यसअघि प्रतिनिधि सभा सदस्यमा उन्मुक्तिकै गंगाराम चौधरीले जित निकालेका थिए ।
प्रदेश (क) मा चौधरीले गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौरालाई पराजित गरेका हुन । विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डगौराले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । चौधरी २ हजार ३५१ मतान्तरले विजयी भएका छन् ।
त्यस्तै प्रदेश (ख) मा विजयी भएका थारुले ७ हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले ६ हजार ६१९ मत प्राप्त गरेका छन् । थारुले ९२० मतान्तरले साउँदलाई पराजित गरेका हुन् ।
यता, कैलालीको क्षेत्र नं. १ र २ मा प्रतिनिधि सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।




