Hamro Patra
कैलाली १ मा नागरिककी रञ्जिता श्रेष्ठको जित सुनिश्चित

टीकापुर, मंसिर ८

कैलाली–१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उनले गणना हुन बाँकी मत भन्दा धेरै मतान्तरले अग्रता लिएकी छन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फ बाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन । उनीहरु बिचको मतान्तर १० हजार ४३७ रहेको छ ।

टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताईरहेका पूर्व साँसद रेशमलाल चौधरीकी श्रीमती समेत रहेकी श्रेष्ठ सो पार्टीकी अध्यक्ष हुन भने चौधरी काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हुन ।

कुल १ लाख ७ हजार ६७२ मत मध्ये ६४ हजार ३३२ मत खसेको थियो । जसमध्ये हालसम्म ५५ हजार ७२३ मत गणना भैसकेको छ । सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार ८ हजार ६०९ मत गणना हुन बाँकी छ । अहिलेसम्म २ हजार ९१० मत बदर भएको छ ।

हालसम्मको मत गणना अनुसार नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९, राप्रपाका लोकेन्द्र कुँवरले ३ हजार २२७ र रास्वपाका टंक ढुंगानाले १ हजार ६४५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update