Hamro Patra
कैलालीमा नागरिकको ह्याट्रिक

टीकापुर, मंसिर ९
कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ जितको ह्याट्रिक गरेको छ । सो पार्टीले क्षेत्र नं. २ मा अरुण चौधरीको विजय सँगै प्रतिनिधि सभाका तीन स्थानमा जितेको छ । उसले कैलालीका क्षेत्र नं. १, २ र ३ मा जितेको छ ।

पछिल्लो मत परिणाम अनुसार चौधरी भारी मतान्तरले विजयी भएका छन । उनले २१ हजार ८७१ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन ।

सुरुवाती अग्रता लिएका चौधरी तेस्रो स्थानमा झरेका थिए । उनलाई थारु बाहुल्य क्षेत्रबाट एकलौटी मत आएको छ । बर्दगोरीया गाउँपालिकाका केही वडामा उनले अत्याधिक मत ल्याएका छन । एक मतदान केन्द्रमा एक सय मत गणना हुँदा उनले ९८ मत पाएका थिए । थारु बाहुल्य क्षेत्रको अत्याधिक मतले नै उनी तेस्रो स्थानबाट अग्रता हासिल गर्दै विजयी हुन सके ।

सो पार्टीबाट कैलालीको क्षेत्र नं. १ मा रञ्जिता श्रेष्ठ र क्षेत्र नं. ३ मा गंगाराम चौधरी यसअघि नै विजय भैसकेका छन । श्रेष्ठले गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीलाई र चौधरीले नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री गौरीशंकर थारु र सभासद कृष्णकुमार चौधरीलाई पराजित गरेका छन ।

पार्टीले पाँच वटा प्रदेश निर्वाचन क्षेत्रमा समेत विजय हासिल गरेको छ । उसले क्षेत्र नं. १ र ३ का दुईवटै र २ को (ख) मा जितेको छ । क्षेत्र नं. १ को (क) बाट कैलाश चौधरी र (ख) बाट लक्ष्मण किशोर चौधरी विजयी भएका छन । त्यस्तै क्षेत्र नं. ३ को (क) बाट घनश्याम चौधरी र (ख) बाट खुशीराम डगौरा थारु विजयी भएका छन भने क्षेत्र नं. २ को (ख) बाट रामेश्वर चौधरी विजयी भएका छन । (क) मा भने गठबन्धनका तर्फबाट काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update