Hamro Patra
नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल

टीकापुर, मंसिर ९

कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ ।

सो पार्टीले ५ प्रतिनिधि सभा मध्ये ३ र १० प्रदेश सभा मध्ये ५ वटामा जित हात पारेको छ । पार्टीले प्रतिनिधि सभातर्फका क्षेत्र नं. १, २ र ३ मा जितेको छ ।

क्षेत्र नं. १ बाट पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ भारी मतान्तरले विजयी भएकी छन । उनले निकटतम प्रतिस्पर्धी गठनबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी छन । श्रेष्ठले ३० हजार ४०४ र चौधरीले १८०८१ मत पाएका छन ।

त्यस्तै क्षेत्र नं. २ मा अरुण चौधरी समेत भारी मतान्तरले विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावल भन्दा ५ हजार ७४३ मत बढी पाएका छन । चौधरीले २१ हजार ८७१ र रावलले १६ हजार १२८ मत पाए ।

क्षेत्र नं. ३ विजयी गंगाराम चौधरीले निकटतम प्रतिस्पर्धीलाई ५ हजार ३७१ मतान्तरले हराए । उनले गठबन्धन तर्फबाट नेकपा माओवादीका कृष्णकुमार चौधरीलाई हराएका हुन । उनीसँग पूर्वमन्त्री नेकपा एमालेका गौरीशंकर थारु समेत पराजित भए । थारुले ९ हजार ८७४ मत पाएका थिए ।

प्रदेश निर्वाचन क्षेत्रतर्फ १ र ३ को (क) (ख) मा गरी चारै ठाउँमा नागरिक उन्मुक्तिको उम्मेदवारले जितेको छ । क्षेत्र नं. १ को (क) मा कैलाश चौधरी र (ख) मा लक्ष्मण किशोर चौधरी विजयी भए । त्यस्तै क्षेत्र नं. ३ को (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डगौरा थारुले जितेका छन भने क्षेत्र नं. २ को (ख) बाट रामेश्वर चौधरी विजयी भएका छन ।

कैलालीमा २ सिट प्रतिनिधि सभा र ३ सिट प्रदेश सभामा जितेर नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ । काँग्रेसले क्षेत्र नं. ४ र ५ मा जितेको छ । ४ बाट काँग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर र ५ बाट डिल्लीराज पन्त विजयी भएका छन ।

त्यस्तै काँग्रेसबाट प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्र नं. २ को (क) मा कमलबहादुर शाह, क्षेत्र नं. ४ को (ख) मा प्रकाश बहादुर बम र क्षेत्र नं. ५ को (ख) मा प्रकाशबहादुर देउवा विजयी भएका छन ।

नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले क्षेत्र नं. ४ को (क) र नेकपा माओवादीका रमेशसिँह धामीले क्षेत्र नं. ५ को (क) बाट प्रदेश सभामा जितेका छन । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा एउटा सिट पनि जित्न सकेन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update