Hamro Patra
हत्या आरोपमा वडाध्यक्ष पक्राउ

बाजुरा, मंसिर १५

बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडि पक्राउ परेका छन् ।

चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष सहित २२ जना विरुद्ध किटानी जाहेरी गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाका अनुसार चेतन मृत्यु प्रकरणमा किटानी जाहेरी भएपछि वडा अध्यक्षलाई पक्राउ गरेको बताए ।

पक्राउ पछि अनुसन्धान भइरहेको थापाले बताए । वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा १ महिना अघि जिल्ला अदालत बाजुराबाट १ लाख धरौटीमा छुटेका थिए ।

त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर दुई जनाको मृत्यु भएको थियो । मङ्सिर ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात् विवादले चर्को रूप लिएको थियो ।

सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जीव अयडिको मृत्यु भएको थियो । ४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कुटपिटबाट मृत्यु भएको थियो ।

मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update