धनगढी, मंसिर १५
धनगढी उपमहानगरपालिका-५ को हसनपुर पिपलचौतारा नजिकै ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव पाँच घण्टादेखि घटनास्थलमै राखिएको छ ।
पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत साउदलाई साइकलमा विद्यालय जाने क्रममा बिहीबार बिहान ग्रेडरले ठक्कर दिएपछि मृत्यु भएको थियो ।
ठक्कर दिने ग्रेडर चालक र कालिका कन्सट्रक्सनका सञ्चालकलाई कारवाही गर्नुपर्ने माग राख्दै मृतकका आफन्त र पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि साउदको शव उठाइएको छैन । उनीहरुले शव उठाउन नदिने अडान लिएका छन् ।
प्रशासनले भने दुःखद घटना भइसकेको अवस्थामा बालिकाको शव उठाएर अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउदै स्थिती समान्य बनाउन पीडित पक्षसँग सम्बाद भइरहेको बताए ।




