Hamro Patra
धनगढी तनावग्रस्तः विद्यार्थी र प्रहरीबीच झडप

टीकापुर, मंसिर १६

कैलाली सदरमुकाम धनगढीमा आफ्ना सहकर्मी विद्यार्थीको मृत्युको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । निषेधज्ञाको अवज्ञ गर्दै विद्यार्थीहरु बिहानैदेखि चोकचोकमा भेला भएर प्रदर्शन गरिरहेका छन्।

ग्रेडरले च्यापिएर बिहीबार बिहान १० बजेतिर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउँदको मृत्यु भएको थियो। स्कुल जाँदै गरेकी १४ वर्षीया चेतनाको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपछि विद्यार्थीहरुले दिनभरजसो प्रदर्शन गरेका थिए ।

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update