टीकापुर, मंसिर १६
कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ ।
बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताए ।
सहकारीमा अनुदानको मल नै पाइएन, उनले भने, गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग गर्यौँ । किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल कञ्चनपुरमा आपूर्ति भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँ खेतीका लागि एक हजार तीन सय पाँच मेट्रिकटन डिएपी मल आपूर्ति भएको छ । जसमध्ये एक हजार एक सय ७० मेट्रिकटन डिएपी मल सहकारीमार्फत किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग हालसम्म एक सय ३५ मेट्रिकटन डिएपी मल मौज्दात रहेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीका अनुसार जिल्लामा गहुँखेती २१ हजार दुई सय १० हेक्टरमा हुने गरेको छ । जसका लागि डिएपी मल नौ हजार मेट्रिकटन आवश्यक पर्दछ । प्रतिवर्ष गहुँखेती हुने जग्गाको क्षेत्रफल घट्दै गएको छ् , उनले बताए । जनसङ्ख्या प्रतिवर्ष बढ्दोरुपमा रहेको छ, बढ्दो जनसङ्ख्याका लागि गहुँखेती हँुदै आएको जग्गाको उर्वराशक्ति बढाई उत्पादन बढाउन आवश्क छ ।
गहुँको उत्पादन बढाउनका लागि किसानलाई सिँचाइसँगै रासायनिक मलको सहज आपूर्ति आवश्यक रहेको उनले बताए । अनुदानको मल थोरै मात्रै किसानसम्म पुग्ने गरेकाले प्रमाणित नगरिएको भारतीय रासायनिक मल किसानले प्रयोग गर्दै आएका छन, उनले बताए । जसको प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याउने कार्य गरेको छ, किसानलाई उन्नत बीउ, सिँचाइ, आधुनिक यन्त्रसँगै गुणस्तरयुक्त रासायनिक मल उपलब्ध गराउन आवश्यक छ ।
कृषि सामग्री कम्पनीले आपूर्ति गरेको आठ सय ९२ मेट्रिकटन युरियामध्ये छ सय ८१ मेट्रिकटन युरिया किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग २११ मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । केही दिनभित्रै युरिया आउने क्रममा रहेको कम्पनीका कार्यालय प्रमुख शाहले बताए ।
खेतमा छरेको गहुँ चार पातको भएपछि किसानले सिँचाइ गरी युरिया मलको प्रयोग गर्ने गर्दछन् । कृषि ज्ञान केन्द्रका कृषि अधिकृत जोशीका अनुसार गहुँ खेतीका लागि १३ हजार मेट्रिकटन युरिया किसानलाई आवश्यकपर्ने गरेको छ । पोटास पाँच मेट्रिकटन गहुँ खेतीमा प्रयोग हुने गर्दछ । गहुँको उत्पादन प्रतिहेक्टर तीन मेट्रिकटन रहेको छ । जनसङ्ख्याअनुसार गहुँको उत्पादन प्रति हेक्टर पाँच मेट्रिकटन बढी उत्पादन गर्नुपर्ने अधिकृत जोशीको भनाइ छ ।
जिल्लामा अनुदानको रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटे्रडिङ कर्पोरेशन लिमिटेडले गर्दै आएका छन् । साल्टटे्रडिङसँग हालसम्म रासायनिक मलको मौज्दात रहेको छैन । साल्टटे्रडिङ लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख दीपक भट्टका अनुसार केही दिनभित्रै नौ सय मेट्रिकटन युरिया आपूर्ति हुने क्रममा रहेको छ ।
अनुदानको रासायनिक मल नपाइएपछि किसानले ५० किलोको भारतीय डिएपीलाई रु तीन हजारदेखि तीन हजार आठ सयमा खरिद गर्नुपरेको छ । अनुदानको डिएपी मल प्रतिबोरा रु दुई हजार तीन सय ८० मा कम्पनीले सहकारीलाई उपलव्ध गराउने गरेका छन् ।
सहकारीले किसानलाई रु दुई हजार सात सयमा बिक्री गर्दै आएका छन् । लोड अनलोड, ढुवानी र सहकारीको मुनाफा राखेर किसानलाई सहकारीले रासायनिक मल बिक्री गर्दै आएका छन् । भारतीय मल खेतमा प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर गुणस्तर जाँच समेत नहुने जनाइएको छ ।




