धनगढी, मंसिर १६
सूदुर पश्चिम नेपालका भुकम्प पीडितलाई अफ्रिकाबाट पठाइएको मानवीय सहयता ह्युमानिटी फाउण्डेसन नेपालले सुदूर पश्चिमका पहाडी जिल्ला डोटी र अछामका भुकम्प पिडितहरुलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ ।
एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहका संस्थापक हिक्मत थापाको संयोजनमा अफ्रिकाबाट रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष डा. सुधीर रुपारेलियाले ६ लाख ४७ हजार ५७, एनआरएनए नाइजेरियाबाट १ लाख १९ हजार २३८ र पदम एन्ड शान्ति फाउन्डेसन बोत्स्वानाले ६५ हजार गरी जम्मा ८ लाख ३१ हजार २९५ रुपैया सहयोग पठाएको थियो । त्यसमा ह्युमानिटी फाउण्डेसनले झण्डै पाँच लाख बराबरको मानवीय सहायता थप गरी प्रदान गरेको छ ।
ह्युमानिटी फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीलाई दुई सय परिवारका लागि दुई सय थान त्रिपाल र दमका बिरामीका लागि दुई थान अक्सिजन कन्सन्ट्रेट प्रदान गरे । त्यस्तै उपाध्यायले अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ का भुकम्पबाट प्रभावित ३० परिवारलाई ३० थान कम्वल र ३० थान त्रीपाल वडा सदस्य भीम रावललाई हस्तान्तरण गरे ।
त्यसैगरी डोटीको पूर्वी चौकी गाँउपालिकाका उपाध्यक्ष पशुपती खड्कालाई ह्युमानिटी फाउण्डेसन नेपालका कोषाध्यक्ष मानसिंह साँउदले ३०० थान त्रिपाल र दुई थान अक्सिजन कन्सन्ट्रेट हस्तान्तरण गरे । सायल गाँउपालिकाका अध्यक्ष जोशीले भुकम्पका कारण बिस्थापित भएकाहरुका लागि मानवीय सहायता प्रदान गरेकोमा सहयोग गर्ने सम्पूणर् मनकारी व्यक्ति र संस्थालाई धन्यवाद दिए ।
पूर्वी चौकी गाँउपालिकाकी उपाध्यक्ष खड्काले भुकम्पबाट ६ जनाको मृत्यु हुनुका साथै झण्डै चार हजार पाँच सय परिवार विस्थापित भएको बताईन । उपाध्यक्ष खड्काले विपत्तिको घडीमा मानवीय सहायता प्रदान गरेकोमा अफ्रिकाका नेपाली लगाएत सम्पूणर् मनकारी दाताहरु र संघसंस्थाहरुलाई धन्यवाद दिईन ।
फाउण्डेसनका महासचिव उपाध्यायले सुदूरपश्चिमका भुकम्प पिडितहरुलाई मानवीय सहायता प्रदान गर्न नाईजेरियामा अगुवाई गर्ने एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसनका संस्थापक हिक्मत थापा, रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष तथा युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दूत महामहिम डा. सुधीर रुपारेलिया, एनआरएनए नाइजेरिया र अध्यक्ष बिरेन्द्र गुप्ता , पद्यम एन्ड शान्ति फाउन्डेसन बोत्स्वाना र एनआरएनए बोत्स्वानाका अध्यक्ष शान्ति भन्डारी र सहयोगी संस्था टीकापुर सरोकार समूह प्रति आभार व्यक्त गरे ।




