टीकापुर, मंसिर १७
राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको खर्चको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनाको प्रगति विवरणअनुसार कार्यान्वयन एकाइले कूल बजेटको दुई प्रतिशतमात्रै खर्च गर्न सकेको छ ।
आयोजनाले तीन महिनामा दुई करोड २१ लाख बजेट खर्च गर्नुपर्नेमा ३८ लाख ८० हजार मात्रै खर्च भएको छ । तीन महिनामा खर्च गर्नुपर्ने बजेटमा यो १७ दशमलव ५४ प्रतिशत मात्रै हो। वार्षिक बजेटलाई आधार मान्दा दुई प्रतिशत बजेट मात्रै खर्च हो ।
वर्षको सुरुको महिनामा काम भए पनि त्यसको भुक्तानी समयमा हुन नसक्दा कम खर्च भएको देखिएको कार्यान्वयन एकाइका प्रमुख कलशराम चौधरी ले बताए । ‘हामीले कार्यक्रम कार्यान्वयन सुरुबाटै गरेका थियौँ । त्यसको भुक्तानी समयमा नभएका कारण कम खर्च भएको देखिन्छ’ प्रमुख चौधरीले भने ‘दोस्रो त्रैमासिकमा अहिलेको तुलनामा खर्चको आकार बढ्छ’ उनले दशैं तिहार र निर्वाचनका कारण आयोजनाको काम प्रभावित भएको बताउँदै पहिलो त्रैमासिकमा भएको सूचनाको सम्झौता अहिले भइरहेको बताए ।
‘बिचका कार्यालय प्रमुखको सरुवा भएका कारणले पनि केही समस्या ल्यायो । नयाँ हुँदा कार्यालयको वस्तुस्थिति बुझ्न समय लाग्यो’ आयोजना प्रमुख चौधरीले भने ‘अब हाम्रा कार्यक्रम निरन्तर अगाडि बढ्छन् । वर्षको अन्तिमसम्ममा हामीले लक्ष्य अनुसारको प्रगति दिन सक्छौँ’ कृषि कार्यक्रम कार्यान्वयन एकाइका लागि चालु आर्थिक वर्षमा २० करोड ४५ लाख बजेट छ । जसअनुसार ६९ लाख पुँजीगत छ भने बाँकी चालु बजेटमा छ । गत आ.व.को तुलना गर्दा चालु आ.व.मा आयोजनाको लागि छ करोड ९० लाख बजेट कम आएको छ ।
गत आवमा कार्यान्वयन एकाइले २७ करोड ३५ लाख बजेट पाएको थियो। जसमा १२ करोड ५९ लाख ८० हजार अर्थात् ४६ प्रतिशत बजेट मात्रै खर्च भएको थियो। त्यसमध्येको छ करोड शीतभण्डार निर्माणका लागि थियो। जुन आयोजनाको काम सुरु हुन नसक्दा बजेट फ्रिज गएको थियो भने चालु आवमा पनि शीतभण्डार निर्माणका लागि छ करोड बजेट विनियोजन भएको छ।
पाँच वर्षभित्र सबै काम सक्ने गरी सुरु भएको आयोजनाको म्याद अब एक वर्ष मात्रै बाँकी रहेको छ। सन् २०२३ डिसेम्बरमा हालको सम्झौताअनुसार आयोजनाको म्याद सकिने छ। चार वर्षमा कृषिकार्यक्रम कार्यान्वयन एकाइले लक्ष्यअनुसारको प्रगति गर्न नसकेको पाइएको छ। कृषि क्षेत्रका लागि विश्व बैंकले आठ दशमलव ८३ मिलियन अमेरिकन डलर बजेट उपलब्ध गराएको थियो। जसअन्तर्गत गत आवसम्म कार्यान्वयन एकाइले चार दशमलव ९१ मिलियन अर्थात् कूल बजेटको ५६ प्रतिशत बजेट मात्रै खर्च गरेको कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले बताए। जुन नेपाली रुपैयाँअनुसार ५७ करोड मात्रै खर्च भएको छ।
‘केही ठूला कार्यक्रमजस्तै शीतभण्डार लगायत काम हुन नसक्दा पनि खर्च कम भएको देखिन्छ। ती कार्यक्रम सम्पन्न भए बजेट खर्चको स्थिति बढ्छ’ सूचना अधिकारी रानाले भने ‘अर्कोतिर किसानले सम्झौता भएअनुसार काम गर्न नसक्दा मूल्याङ्कनको आधारमा हुने भुक्तानी कम भएका कारणले पनि खर्च लक्ष्यअनुसार नभएको देखिएको हो ।’
सात हजार पाँच सय घरधुरी किसानलाई लाभान्वित गर्ने लक्ष्य कार्यान्वयन एकाइको रहेकोमा छ हजार पाँच सय घरधुरीका किसान आयोजनाबाट प्रत्यक्ष लाभान्वित भएको कार्यान्वयन एकाइका प्रमुख चौधरी ले बताए। ५० प्रतिशत अनुदानमा कृषि क्षेत्रका विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको आयोजना किसानका लागि भने वरदान सावित एको छ। आयोजनाले उन्नत बीउ उत्पादनका लागि मात्रै सात वटा कृषि सहकारी र पाँच वटा कम्पनीसँग समन्वय गर्दै आएको छ ।
रासस




