टीकापुर, मंसिर १७
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ बल्चौरमा स्कारपियोले ठक्कर दिँदा अटोचालकसहित तीन जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको बल्चौर खण्डबाट पूर्वतर्फ जाँदै गरेको बा १४ ९५७६ नम्बरको स्कारपियोले सोही दिशातर्फ जाँदै गरेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
स्कारपियोको ठक्करबाट अटोचालक २८ वर्षीय दीपक वादी, ३० वर्षीय हरिश वादी र २४ वर्षीय कल्पना वादी घाइते भएका हुन् । घाइते तीनै जना बल्चौरमा बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार घाइते तीनै जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
स्कारपियोका चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का भुपेन्द्र वि.क.लाई चिसापानी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




