टीकापुर, मंसिर १८
टीकापुर उद्योग वाणिज्य संघले यसवर्ष टीकापुर महोत्सव २०७९ को आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ ४ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
संघले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिमा संघका पदाधिकारीहरु सदस्य रहेका छन । त्यस्तै निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीलाई महोत्सव व्यवस्थापक चयन गरिएको छ ।
महोत्सव सम्पन्न विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको मूल समारोह समितिका संयोजक सापकोटाले जानकारी दिए । जसअनुसार अतिथि सत्कारमा उपाध्यक्ष सन्तोष खड्का, आर्थिकमा उपाध्यक्ष कृष्ण उपाध्याय बजगाई, साँस्कृतिकमा सचिव तपेन्द्र कुँवर र छपाईमा कोषाध्यक्ष लोकेश साउँद संयोजक रहेका छन ।
अन्य समितिहरुका संयोजकतर्फ सूचना तथा सञ्चारमा प्रकाश उपाध्याय, मञ्च व्यवस्थापनमा पृथ्वीराज ढुंगाना, स्टलमा बमबहादुर ओली, पार्किङ तथा सुरक्षामा नमराज देवकोटा, यातायातमा दुर्गा साहु, ब्यानरमा हेमन्त रावल रहेका छन ।
त्यस्तै रमाईलो मेलामा हंशराज रावल, सूचना तथा प्रविधिमा लालबहादुर चौधरी, कृषिमा टीका शाही, परिसरमा जीतबहादुर चौधरी र प्राथमिक उपचारमा माया बागदास संयोजक रहेका छन ।
मूल समारोह समितिका संयोजक सापकोटाले महोत्सव सफल पार्न सबैलाई सक्दो सहयोगका लागि आग्रह गरेका छन । विगत दुई वर्ष कोरोनाका कारण महोत्सव हुन सकेको थिएन । यो वर्ष महोत्सवमा स्थानीयको समेत सकृय सहभागिता रहने संघले विश्वास गरेको छ ।
संघले महोत्सवले यस क्षेत्रको ब्यापार व्यवशायमा टेवा पुग्नुका साथै कला संस्कृतिको समेत प्रचारप्रसार हुने बताएको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ ।
संघले महोत्सवमा करिव २५० स्टल रहने बताएको छ । ती स्टल बुकिङका लागि खुल्ला गरिएको समेत संघले जानकारी दिएको छ ।




