टीकापुर, मंसिर १८
टीकापुर जेसीजका पूर्व अध्यक्ष प्रकाश शाहले रक्त सञ्चार केन्द्रको अंगका रुपमा जेसीजमा आवद्ध युवाहरु लाग्नुपर्ने बताएका छन् ।
टीकापुर जेसीजको साप्ताहिक कार्यक्रमको दोश्रो दिन वृहत् रक्तदान कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै पूर्व अध्यक्ष शाहले सो कुरा बताएका हुन् ।
‘टीकापुर अस्पतालमा दैनिकजसो रगतको अभाव हुने गरेको छ, सो अभावलाई जेसीजका युवाहरुले टार्नका लागि मद्दत गर्नुपर्छ’ शाहले भने ‘टीकापुर जेसीजले रक्त सञ्चार केन्द्रको अंगका रुपमा काम गर्नुपर्ने आवश्यकता छ ।’
विगत लामो समयदेखि जेसीजले नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रक्तदान गर्दै आइरहेको छ ।
रक्तदान कार्यक्रमका संयोजक पदमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापति दत्तबहादुर विष्ट रहेका थिए ।
कार्यक्रममा विष्ट, टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.लगायतले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रमबाट ३६ पिन्ट संकलन भएको रक्तदान कार्यक्रमका संयोजक शाहीले जानकारी दिएका छन् ।




