टीकापुर, मंसिर १८
कैलालीमा प्रदेश सभातर्फ उम्मेदवारी दिएका ४४ जना उम्मेदवारका जमानत जफत भएको छ ।कुल सदर मतको १० प्रतिशत मत नपाएपछि विभिन्न साना पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।
प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी दर्ताको क्रममा पाँच हजार रुपियाँका दरले धरौटी राखेका थिए । सदर मतको १० प्रतिशत मत पुर्याउन नसकेका उम्मेदवारका धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताए ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ (क) मा छ जना उम्मेदवारको जमानत जफत भएको छ । जनता समाजवादी पार्टीका भगतराम थारु, लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरी, स्वतन्त्र उम्मेदवार सन्तोष कठरिया, नेपालका लागि नेपाली पार्टीका चन्द्रसिंह बोहराको जमानत जफत भएको छ । यसैगरी, नेपाल मजदुर किसान पार्टीका विष्णुकुमारी थापामगर, स्वतन्त्र उम्मेदवार छोटेलाल चौधरीको पनि जमानत जफत भएको छ ।
सोही निर्वाचन क्षेत्रको (ख) मा राप्रपाका डम्मरबहादुर थापा, स्वतन्त्र उम्मेदवार केशवबहादुर साउँद, गणेशकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीको जमानत जफत भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शेरसिंह विश्वकर्मा, नेपालका लागि नेपाली पार्टीका वीरबहादुर शाही, नेमकिपाका गगनबहादुर थापामगर र स्वतन्त्र चक्रबहादुर चौधरीले पनि आफ्नो जमानत गुमाएका छन् ।
निर्वाच क्षेत्र नं. २ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरी, नेमकिपाका लक्ष्मी पुनमगर, नेपाल लोकतान्त्रिक पार्टीका मानबहादुर चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका तेजबहादुर घर्तीको धरौटी जफत भएको छ । सोही क्षेत्रको (ख) मा राप्रपाका एकेन्द्रबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सन्तु डंगौरा, भरतकुमार शाही, नेकपा, माओवादी समाजवादीका जङ्गबहादुर देउवा, लोसपाका तेजबहादुर बडायक र नेमकिपाका दीपा विष्टको जमानत जफत भएको छ ।
निर्वाचन क्षेत्र नं. ३ (क) मा राप्रपाका चुल्हुराम चौधरी, हाम्रो नेपाली पार्टीका राप्रसाद रेग्मी र नेपाल मजदुर किसान पार्टीका रञ्जनाकुमारी सिंहको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसैगरी, सोही क्षेत्रको (ख) मा राप्रपाका प्रेमराज चौधरी, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी, नेपाल लोकतान्त्रिक पार्टीका प्रमोदकुमार चौधरी, स्वतन्त्र मोहनकुमार शाही र नेपाल मजदुर किसना पार्टीका खगेन्द्रबहादुर शाहीको जमानत जफत भएको छ ।
निर्वाचन क्षेत्र नं. ४ (क) मा छ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालय अनुसार राप्रपाका तिलकबहादुर महत, नेपाल लोकतान्त्रिक पार्टीका मणिराम चौधरी, मौलिक जरोकिलो पार्टीका सावित्री गिरी, नेशनलिस्ट पिपल्स पार्टीका लालबहादुर बोहराले आफ्नो जमानत सुरक्षित गर्न सक्नु भएन । यस्तै, स्वतन्त्र उम्मेदवार प्रेमबहादुर शाह, भोजराज सापकोटाको जमानत पनि जोगिएन ।यसैगरी, सोही निर्वाचन क्षेत्रको (ख) मा राप्रपाका प्रकाशदत्त भट्ट, स्वतन्त्र उम्मेदवार भगवती ओझा र नागरिक उन्मुक्ति पार्टीका कमलराज भट्टको जमानत जफत भएको छ ।
निर्वाचन क्षेत्र नं. ५ (क) मा भने सबै उम्मेदवारले आफ्नो जमानत जोगाउन सफल भएका छन् । (ख) मा नेपाली कांग्रेस (वीपी) का दीपकराज खैर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लुहार र नेपाल मजदुर किसान पार्टीका रामबहादुर दर्लामी मगरको जमानत जफत भएको छ ।
कैलालीमा प्रदेशतर्फ जम्मा तीन लाख १४ हजार २४६ मत खसेकोमा १५ हजार ६९७ (पाँच प्रतिशत) मत बदर भएको थियो । दुई लाख ९८ हजार ५४९ मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।




