Hamro Patra
सुदूरपश्चिमले जित्यो यू-१९ क्रिकेटको उपाधि

टीकापुर, मंसिर १९

काठमाडौंमा जारी यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि हात पारेको हो । जितसँगै सुदूरपश्चिमले २ लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, उपविजेता लुम्बिनीले १ लाख रुपैयाँमा चित्त बुझायो ।

फाइनलमा लुम्बिनीले दिएको ९३ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले अविजित ३९, दिपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन बनाए । मिलन बोहरा ६ र दीपक बोहरा भने शून्यमै आउट भए । लुम्बिनीका लागि रमेश कुर्मीले दुई, अभिषेक गौतम र निर्मल गुरुङले एक/एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै, नर सार्कीले ११ रन जोडे । बाँकी ब्याट्स म्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । लुम्बिनीलाई ९२ रनमै अलआउट गर्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ९ ओभरमा १५ रन दिँदै ५ विकेट लिए ।

त्यस्तै, हेमन्त धामी, नरेन साउँदले दुई/दुई र आकाश चन्दले एक विकेट हात पारे । सुदूरपश्चिमले अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । यसपालि प्रतियोगितामा प्रदेश-१, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update